Local News

एउटा प्रयोजनमा भिसा लिएर नेपालको कानुनले वर्जित गरेका अन्य गतिविधि गरेको आरोपमा अध्यागमन विभागले उनीहरुलाई

एउटा प्रयोजनमा भिसा लिएर नेपालको कानुनले वर्जित गरेका अन्य गतिविधि गरेको आरोपमा अध्यागमन विभागले उनीहरुलाई नियन्त्रणमा लिएकामा जरिवाना असुल गरी तोकिएको अवधिसम्म पुनः नेपाल आउन नपाउने गरी निस्कासन गरेको हो ।

By Admin User
5 min read4 views
एउटा प्रयोजनमा भिसा लिएर नेपालको कानुनले वर्जित गरेका अन्य गतिविधि गरेको आरोपमा अध्यागमन विभागले उनीहरुलाई

काठमाडौँ — पर्यटक र व्यावसायिक भिसामा भित्रिएर गैरकानुनी गतिविधि गरेको आरोपमा पछिल्लो ६ महिनामा ३ सय ३३ जना विदेशी नागरिक पक्राउ परेका छन् ।

एउटा प्रयोजनमा भिसा लिएर नेपालको कानुनले वर्जित गरेका अन्य गतिविधि गरेको आरोपमा अध्यागमन विभागले उनीहरुलाई नियन्त्रणमा लिएकामा जरिवाना असुल गरी तोकिएको अवधिसम्म पुनः नेपाल आउन नपाउने गरी निस्कासन गरेको हो ।

साउन २०८२ देखि पुस मसान्तसम्म ६ महिनामा पक्राउ परेका विदेशी नागरिकहरूमा ‘म्यारिज ब्युरो’ खोलेर रकम असुल गरी नेपालबाट महिलालाई चीन पठाउनेदेखि क्रिस्चिन धर्म प्रचारप्रसारमा संलग्नसम्मका व्यक्ति रहेको विभागले जनाएको छ । सन् २०२५ को एक वर्षमा निस्कासन गरिएका विदेशी नागरिकको संख्या ५ सय १ थियो ।

अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले पक्राउ परेकाहरुमा अध्यागमन कानुन उल्लंघन गर्नेदेखि अन्य फौजदारी कसुरमा संलग्नसम्मका रहेको बताए । ‘तोकिएको भिसा अवधि गुजारेर गैरकानुनी रुपमा बसोबास गर्दै आएकादेखि अरु फौजदारी कसुरसमेतमा संलग्न ३ सय ३३ जनालाई विभागले नियन्त्रणमा लिएकामा केहीलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा बुझाइएको छ,’ निर्देशक ढकालले भने । बाँकी सबैलाई निश्चित अवधिसम्म नेपाल प्रवेश गर्न नपाउने गरी उनीहरुकै देशमा निस्कासन गरिएको छ ।

नेपालका विभिन्न राजनीतिक दलका नेताहरुको नाम वेबसाइटमा देखाएर रकम असुल्दै आएका कोरियन मूलका अमेरिकी नागरिक योङघो लीलाई विभागले १९ माघमा पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान जारी रहेको विभागले जनाएको छ । काठमाडौंको महाराजगन्जमा घर भाडामा लिएर गैरकानुनी रुपमा म्यारिज ब्युरो सञ्चालन गर्दै आएका चिनियाँ नागरिक चिहाओ लिउलाई अध्यागमन विभागले ११ पुसमा पक्राउ गरेको थियो ।

Hardik IVF
Laxmi Sunrise bank

त्यसअघि विभागले २८ कात्तिकमा ४ चिनियाँ नागरिकलाई सोह्रखुट्टेबाट पक्राउ गरेको थियो । गैरकानुनी रुपमा म्यारिज ब्युरोमार्फत नेपाली महिलालाई चीन पठाउँदै आएको आरोपमा सोह्रखुट्टेको एक घरमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । पक्राउ गरिएका रुइजेङ अलान वाङ, लिउ युफान, रुई सियाओ र चाय यान बोलाईलाई ३ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी जनही ५० हजार रुपैयाँ जरिवाना असुल गरी उनीहरुकै देश निस्कासन गरिएको थियो ।

पर्यटक र व्यावसायिक भिसाको आवरणमा आएर क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न एक अमेरिकी नागरिक र व्यावसायिक भिसामा आएर संदिग्ध गतिविधि गर्दै आएका अर्का एक चिनियाँ नागरिक पनि ११ माघमा काठमाडौंबाट पक्राउ परेका थिए ।

सन् २०१२ मा पहिलोपटक पर्यटक भिसामा नेपाल प्रवेश गरेका चिनियाँ नागरिक त्यसपछि पटकपटक गरी १३ पटक व्यावसायिक भिसा लिएर बसेका थिए । उनीमाथि अनुसन्धान गर्दा विभिन्न ६ वटा होटल/व्यावसायिक कम्पनी स्थापना गरेको तर विदेशबाट कुनै लगानी नल्याएको र भिसा पाउन मात्रै कम्पनी देखाएर अरु नै गतिविधि गर्ने गरेको अध्यागमनको अनुसन्धानबाट खुलेको थियो ।

यान सपिङ होटेल तथा रेस्टुराँ, होटेल विथ रेस्टुराँ यान, झोँङविन इन्टरनेसनल कार्गो कम्पनी, मोआ यिङ होटेल तथा रेस्टुराँ, स्प्रिट मङकी इन्फरमेसन टेक्नोलोजी र शाव जिअसुन होटल विथ रेस्टुरेन्ट कम्पनी खोलेको देखिएको तर यी कम्पनीबाट उनले कुनै पनि आर्थिक कारोबार नगरेको भेटिएको थियो ।

पर्यटक भिसा र व्यावसायिक भिसामा नेपालमा बसी ४ वर्षदेखि विभिन्न शैक्षिक कामको आवरणमा धर्म क्रिस्चियन प्रचारमा संलग्न अमेरिकी नागरिक पनि त्यही दिन काठमाडौंबाट पक्राउ परेका थिए । सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्याल्भेरी सर्भिस सेन्टर खोलेका उनले कम्पनीको ठेगाना ललितपुर–१८ सैंबु उल्लेख गरेकामा गोदावरी नगरपालिकामा घर भाडामा लिई गैरकानुनी रुपमा बालगृह सञ्चालन गरेर धर्मप्रचारमा संलग्न भएको पाइएको थियो । दुवैलाई नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन गरिएको छ ।

पर्यटक भिसामा आएर गैरकानुनी गतिविधि गरेको आरोपमा सन् २०२५ मा ५ सय १ विदेशी नागरिक पक्राउ परी जरिवाना असुल गरी उनीहरुकै देश निस्कासन गरिएको थियो । त्यसअघि सन् २०२४ मा ४ सय ७, २०२३ मा ४ सय ५९, २०२२ मा ५ सय ७०, २०२१ मा ३ सय ८, २०२० मा ३ सय ३२, २०१९ मा ६ सय ७१, २०१८ मा ६ सय ७८ र त्यसअघि २०१७ मा ५ सय ५९ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएर अध्यागमनले निस्कासन गरेको थियो ।

एउटा प्रयोजनमा भित्रिएर अरु नै गतिविधिमा संलग्न हुने क्रम बढेपछि उनीहरुको निगरानी एवं यात्रा व्यवस्थापन र सहजीकरणका लागि भन्दै विभागले पछिल्लो पटक १ जनवरी २०२६ देखि विदेशी नागरिक आवागमन व्यवस्थापनसम्बन्धी प्रणाली नै स्थापना गरी नियमन र निगरानीलाई थप कडाइ गरेको छ ।

‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआईएस) १ जनवरीदेखि काठमाडौं उपत्यकामा सुरु भइसकेकामा १ मार्चदेखि उपत्यकाबाहिर पनि अनिवार्य रुपमा लागू गर्ने अध्यागमनको तयारी छ ।

नेपाल भित्रिएर त्यसपछि कुन ठाउँमा गएका छन् ? के गतिविधि गर्छन् ? यसको यकिन अभिलेख नहुँदा अध्यागमन र अरु कानुनविपरीतका गतिविधिमा संलग्न हुने क्रम बढेपछि यसलाई समेत नियमन गर्न तथा यात्रा सहजीकरण गर्न यो प्रणाली ल्याइएको विभागले जनाएको छ । विदेशी नागरिकले जुनजुन क्षेत्रको सेवा लिन्छन्, त्यसमार्फत उनीहरुको राष्ट्रियता, नाम, राहदानी र भिसासहितको विवरण अध्यागमनले विकास गरेको प्रणालीमा जोडिँदा कानुनअनुसार काम भए/नभएको एकीकृत विवरण हुने र यसले राष्ट्रिय सुरक्षा र पर्यटक सुरक्षा दुबैलाई हित गर्ने भएर यसलाई कडाइका साथ लागू गरिएको विभागका अधिकारीहरु बताउँछन् ।

यसबाट भिसा कानुनअनुसार विदेशी नागरिक बसे/नबसेको विवरण सहजै पहिचान हुने र त्यसका लागि अध्यागमनसँग होटल/लज, आन्तरिक वायु सेवा कम्पनी, हेलिकोप्टर कम्पनी, ट्रेकिङ एजेन्सी, सार्वजनिक यातायात सेवा, पर्वतारोहण एजेन्सी, टुर्स एन्ड ट्राभल एजेन्सी, टेलिकम सेवा प्रदायक, बैंक तथा वित्तीय संस्था, विदेशी मुद्रा सटही केन्द्र, टुरिस्ट गाइड, पर्यटक प्रहरी, पर्यटकसँग सम्बन्धित अन्य संस्था लगायतलाई अध्यागमनको प्रणालीमा आबद्ध हुनुपर्ने व्यवस्था मिलाइएको छ ।

About the Author

Admin User

Author

Comments (0)

Please login to leave a comment

No comments yet. Be the first to comment!

Related Articles