ज्ञानेन्द्र दाई र राजिब दाईलाई संसद पठाउनुहोस् : कांग्रेस सभापति गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी–२ मा राजीव कोइराला र सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्कीलाई जिताएर संसद पठाउन मतदातालाई आग्रह गरेका छन्। चुनाव नजिकिँदै जाँदा उनले बदलिएको कांग्रेस, सुशासन र भ्रष्टाचारमुक्त देश निर्माणको प्रतिवद्धता जनाउँदै घरघर पुगेर निर्वाचन प्रचारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

सुनसरी । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसप्रति देखाइएको विश्वासलाई अब भोटमा बदलिदिन मतदातासमक्ष आग्रह गरेका छन्। सुनसरी–२ को झुम्का र सुनसरी–४ को इनरुवा बसचोक तथा जमुवामा आयोजित अलग–अलग कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनका लागि कांग्रेस नेतृत्वलाई बलियो जनसमर्थन दिनुपर्ने बताएका हुन्।
कार्यक्रममा सभापति थापाले, ‘तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ, माया गर्नु भएको छ। अब सुनसरी–२ क्षेत्रबाट राजीव कोइराला दाइ र सुनसरी–४ बाट पार्टी जोगाउन अहम भूमिकामा रहनुभएका अनुभवी नेता ज्ञानेन्द्रबहादुर कार्की दाइलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु, बाँकी कुरा पूरा गर्नेछु,’ भन्ने धारणा राखे।
उनले राजीव कोइरालालाई संसदमा पठाएपछि बाँकी राजनीतिक र विकासको जिम्मेवारी आफूले काधमा लिने प्रतिवद्धता जनाए। कार्की अनुभवी, संकटका घडीमा पार्टीलाई एकताबद्ध राख्न सफल नेता भएको र आज पनि कांग्रेसलाई यस्तो नेतृत्व आवश्यक भएको बताउँदै उनले पुनः अवसर दिन जनतासमक्ष अपील गरे।
सभापति थापाले कांग्रेसले अघिल्ला दिनमा बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने तथ्य जनतामाझ खुला रूपमा राख्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। ‘कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला, म तपाईंहरूको विश्वासमा परेको छु। हामीले भनेका धेरै कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ,’ उनले भनेका छन्।
निर्वाचन आचारसंहिताका कारण धेरै कुरा खुल्न नसकेको बताउँदै उनले बद्लिएको कांग्रेसको नयाँ सोच, नीति र योजनाअनुसार भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न ठोस आधारसहित काम गरिने उल्लेख गरे। गाउँ–गाउँ, टोल–टोल पुगेर कांग्रेसको योजना, भ्रष्टाचारमुक्त देश बनाउने संकल्प र आगामी पाँच वर्षका कामको खाका जनतामाझ पुर्याउन नेता तथा कार्यकर्तालाई सक्रिय बन्न आग्रह गरे।
निर्वाचन आउन करिब २१ दिन मात्र बाँकी रहँदा अब अन्य काम छोडेर घर–घर पुगेर चुनावी प्रचारमा उत्रिनुपर्ने सभापति थापाको भनाइ छ। कांग्रेसले आगामी पाँच वर्ष नेतृत्व पाए के–के गर्ने हो, त्यो स्पष्ट योजनासहित समग्र टिम मिलेर काम गर्न तयार भएको उनको दाबी छ।
About the Author
Routine of Sunsari
Author




Comments (0)
Please login to leave a comment
No comments yet. Be the first to comment!